सोमवार, मंसिर १२, २०७९

आज राति १२ बजेदेखि मौन अवधि

२७ वैशाख, घोराही – पालिका चुनावका लागि आज राति १२ बजेदेखि मौन अवधि लागू हुँदैछ । निर्वाचन आयोगले आउँदो शुक्रवार हुने मतदानका लागि आज मध्यरातिदेखि मतदान सम्पन्न नभएसम्म मौन अवधि लागू गरेको हो ।

 

मौन अवधिमा आचारसंहिता विपरीतका गतिविधि गर्न नपाइने आयोगले जनाएको छ । चुनावलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र भयमुक्त बनाउन मौन अवधि तोकिएको आयोगले जनाएको छ ।

मौन अवधि शुरू भएपछि निर्वाचन सम्पन्न नहुँदासम्म राजनीतिक दल, दलकातर्फबाट उम्मेदवार भएका व्यक्ति, राजनीतिक दलका पदाधिकारी, स्वतन्त्र उम्मेदवार, नागरिक समाज, आम मतदाता तथा सम्पूर्ण सञ्चारजगतले कुनै प्रकारका चुनावी प्रचार प्रसार गरे कारवाही भोग्नुपर्ने निर्वाचन आयोगले जनाएको छ ।

 

मौन अवधिमा गर्न नहुने काम यस प्रकार छन् :

१. निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न नहुने,

२. मौन अवधि शुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका

आ–आफ्ना निर्वाचन चिन्ह तथा प्रचारप्रसारका सामग्री हटाएको हुनुपर्ने ।

३. एस.एम.एस., फेसबुक, भाइवरजस्ता विद्युतीय माध्यमद्वारा मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने ।

४. उम्मेदवार वा राजनीतिक दलको निर्वाचन चिन्ह अङ्कित पहिरन, टोपी, स्टिकर, लोगो, झोला, गम्छा, ट्याटु जस्ता सांकेतिक सामग्रीको प्रयोग गर्न वा प्रदर्शन गर्न वा गराउन नहुने ।

५. उम्मेदवार वा राजनीतिक दलको प्रचार प्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नहुने ।

© 2022 Nepal Vitra All right reserved Site By : Himal Creation