सोमवार, मंसिर १२, २०७९

आखिर किन खस्किएको छ सामुदायिक विद्यालयमा गुणस्तर?

नेपालमा करिब ३३ हजार सामुदायिक विद्यालयहरु छन् । विद्यालय तहका विद्यार्थी मध्ये ८३ प्रतिशत भन्दा बढी विद्यार्थीहरु सामुदायिक विद्यालयमा पढ्छन् । तर, अहिले प्रायः अभिभावकहरुको रोजाई भनेको आफ्ना बच्चालाई निजी विद्यालयमा पढाउने हो । चाहे त्यो बच्चाले गुणस्तरीय शिक्षा पाओस् भन्ने ध्येयले होस् वा समाजमा आफ्नो प्रतिष्ठा बढाउन । निजी विद्यालय प्रतिको बढ्दो मोहले दुईखाले शिक्षा प्रणालीलाई प्रश्रय दिइरहेको छ । जसले समाजलाई असमानता र विभेदको बाटोमा धकेलेको छ ।

 

निजी विद्यालयमा पढाउने शिक्षक न तालिमप्राप्त छन्, न उनीहरुले पाउने पारिश्रमिक नै सामुदायिक विद्यालयको शिक्षकको जति छ । निजीमा पढाउने शिक्षकले सामुदायिकका भन्दा आधा वा त्यो भन्दापनि अतिकम पारिश्रमिक पाउँछन् । तर कम पारिश्रमिक पाएर पढाउने निजी विद्यालयको नतिजा राम्रो आउँछ, बढी पारिश्रमिक खाएर पढाउने सामुदायिक विद्यालयमा आउँदैन । यसकारण पनि अब सामुदायिक शिक्षकहरुको मूल्याङ्कन कति वर्षदेखि पढाइरहेको छ भनेर होइन, कस्तो पढाएको छ र पढाए अनुसार कस्तो नतिजा ल्याएको छ भन्ने आधारमा हुनुपर्छ ।

 

मलाई अचम्म लाग्छ । निजीले राम्रो शिक्षा दिएका छन् भनेर सरकारीले झन् दिन सक्नुपर्ने हो । किनभने तिनीहरूमा शिक्षकको व्यवस्था सरकारले गरेको छ । बजेटको व्यवस्था सरकारले गरेको छ । सरकारसँग बजेट छ । त्यो बजेटले सरकारी स्कुललाई विकसित गर्न सक्छ । तर किन भएको छैन रु किनभने त्यहाँ पनि भ्रष्टाचार छ । राम्रो काम नगर्नु पनि भ्रष्टाचारै त हो नि । शिक्षा दिने ठाउँ नै यसरी भ्रष्टाचार गर्ने थलो हुन्छ भने आशाचाहिँ कहाँ गर्ने होला रु छक्क पर्छु म त । सोचेको सोच्यै पो हुन्छु त । जहाँ पनि भ्रष्टाचारै अघि लाग्छ अनि विकास हुन दिँदैन ।

 

सामुदायिक विद्यालयमा भएका स्थायी शिक्षकहरुलाई जागिरै जाने डर हुन्नँ । त्यसमा पनि विभिन्न पार्टी सम्बद्ध शिक्षकका राजनीतिक सङ्गठनको बलजोरमा कक्षाकोठामा पढाउने भन्दा बढी राजनीतिक गतिविधिमा संलग्न भएको पनि भेटिन्छन् । जसले सामुदायिक विद्यालयको गुणस्तरमा प्रश्नचिन्ह खडा मात्र गरेको छैन, नेपालको सार्वजनिक शिक्षालाई अधोगतितर्फ धकेलिरहेको छ । यसलाई रोक्ने एउटा उत्तम उपाय पनि परिणाम केन्द्रित शिक्षण विधि हुन सक्छ । यदि सामुदायिक विद्यालयमा विद्यार्थीले राम्रो सिक्न थाल्यो, परिणाम राम्रो आउन थाल्यो भने अभिभावकहरुको सामुदायिक विद्यालयप्रतिको विश्वास पनि फर्कन सक्छ ।

लेखक – विनोद अधिकारी

© 2022 Nepal Vitra All right reserved Site By : Himal Creation