बिहिबार, भदौ ३१, २०७८

स्ट्यान्डअप कमेडीमा महिला सहभागिताको खडेरी ?

काठमाडौं । हाम्रो घरदेखि हस्पिटल जाने बाटोमा एक वर्षदेखि खनेको थियो । सबै जनता चिन्तित भए पछि मिडिया पुग्यो मेयरकोमा । मिडियाले सोध्यो– तपाईंले यहाँको बजेट कहाँ लैजानुभयो । जवाफमा मेयरले भने– मैले यति बजेट विकासका लागि छुट्याएको छु ।

बाटो राम्रो बन्ने भयो भनेर हामी सबै खुसी भयौं ।तीनचार दिन पछि हेरेको त विकासले नयाँ गाडी चढेर हिँडिरहेको रहेछ ।

मेयरले त बजेट छोरोलाई गाडी किन्न पो दिएको रहेछ भनेर प्रदीप भट्टराईले जोक पूरा गरिदिए ।

० ० ०

अहिलेको जेनेरशेनको कुरा गरौं ऋचा म्याम, लभ पर्न पाको छैन सन्तानको नाम के राख्ने भनेर उनीहरुको छुट्टै डेटिङ हुन्छ ।

केटीले भन्छे– हाम्रो बच्चाको नाम के राख्ने बुरा ?

पहिलो कुरा बुरा होइन बुढा भन्न सिक, दोस्रो कुरा तोते बोली त फुटेको छैन के बच्चाको कुरा गरिराछौ ?

ऋचा शर्मातिर संकेत गर्दै प्रदीप भट्टराई भन्छन्– बच्चाको नाम मात्रै होइन बच्चै अगाडि ल्याएर राख्नु पर्ने मान्छेले एनिभर्सरी पोस्ट मात्रै हालेको मैले देखेको छु । सन्तोष पन्त र मनोज गजुरलले भने ‘प्रेसर आयो है ?’
ऋचा भन्छिन्– कमेडी च्याम्पियनमा मलाई बच्चा जन्माउने प्रेसर घरबाट भन्दा धेरै आयो ।

माथिको पहिलो जोक कमेडी च्याम्पियन सिजन–२ मा सहभागी झापाकी १८ वर्षीया श्रेया सुवेदीको हो । दोस्रो चाहिँ सिन्धुपाल्चोककी २३ वर्षीय स्वेता चौलागाईंको ।

० ० ०

महिला गायिकाको संख्या नेपालमा कति छ ? अनि नायिकाहरुको संख्या कति छ ? यो तथ्यांक कसैसँग पनि छैन । र, यो अधिकांशका लागि चासोको विषय पनि होइन । तर, यही प्रश्न कमेडियनसँग जोडेर गर्ने हो भने यसमा धेरैको चासो हुन सक्छ । अथवा नेपालमा महिला कमेडियनको संख्या कति होला ?

गतवर्षबाट नेपालमा स्ट्यान्डअप कमेडीको रियालिटी सो गर्दै आएका विशाल भण्डारी भन्छन्– नेपालमा महिला कमेडियन नै छैनन् । गत वर्षको आफ्नो अनुभवका आधारमा आफू ढुक्कले यस्तो जवाफ दिइरहेको उनी बताउँछन् ।

तर, कमेडी च्याम्पियन सिजन–१ मा तीन जना महिला कमेडियन थिए त ? विशाल भन्छन्– उहाँहरु अडिसनबाट आउनु भएको थिएन । महिलाको पनि सहभागिता चाहिन्छ भनेर उहाँहरुलाई हाम्रो रिसर्च टिमले खोजेर ल्याएको थियो ।

सिजन–२ मा आइपुग्दा फिजिकल अडिसनमा केही महिला प्रतिस्पर्धी पनि देखिए । करिव ६ हजारले दिएको अडिसनबाट उत्कृष्ठ २४ मा आइरुपुग्दा २ जना महिला प्रतिस्पर्धी छन् । “तर उहाँहरु यो पटक प्रतिस्पर्धाबाटै आउनु भएको छ । आशा गरौं अब यो सहभागिता बढ्दै जाने छ,” विशाल अपेक्षाकृत सुनिए ।

अहिले पनि अभिभावकमा आफ्नो छोरीलाई कमेडियन बनाउन हुन्न भन्ने सोच रहेको उनको भनाइ छ । “छोरीहरुलाई गायिका तथा नायिका बनाउने सोचमा विस्तारै परिवर्तन हुँदै गए पनि कमेडियन बनाउन हुन्न भन्ने सोच कायम नै छ । डिजिटल अडिसनमा पास गरेपछि फिजिकल अडिसनका लागि आउन स्वेता चौलागाईंले ठूलै संघर्ष गर्नुपर्यो । उहाँको बुवालाई बुझाउन हामीले राम्रै मेहनत गर्नुपर्यो,” विशाल भन्छन्, “सार्वजनिक कार्यक्रममा महिला सहभागिता र लैंगिक समानताका जति नै चर्का कुरा गरे पनि व्यवाहारमा भने त्यो अझै देखिँदैन ।”

नेपालमा मात्रै होइन भारतमा पनि महिला कमेडियनको संख्या नगन्य रहेको छ । “भारतमा मोटामोटी दुईजना मात्रै महिला कमेडियन छन्, भारती सिंह र जेनी जनुमाला,” उनी भन्छन् , “नेपालमा त्यो पनि छैन ।” भारतीय कमेडियन सोहरुमा पनि महिला प्रतिस्पर्धीको न्यून सहभागिता रहने गरेको छ ।

चीनमा पनि अवस्था उस्तै छ । २९ वर्षिय याङग लि चीनकी एक मात्रै कमेडियन हुन् । उनी चीनकी एक्ली ‘पञ्चलाइन क्विन’को रुपमा चिनिन्छिन् ।

© 2021 Nepal Vitra All right reserved Site By : Himal Creation