बिहिबार, भदौ ३१, २०७८

२५०० नाघेको नेप्से ‘करेक्सन’ भएर बन्द

काठमाडौं । साताको चौथो कारोबार दिन सेयरबजार परिसूचक नेप्सेमा सामान्य करेक्सन भएको छ । सुरुवाती समयबाटै तीव्र उतार–चढाव देखिएको बजारमा करेक्सन देखिए पनि करिब साढे नौ अर्बको कारोबार भएको छ ।

आज नेप्से ६.८१ अंकले करेक्सन भएर २४६६.९२ अंकमा बन्द भएको छ । तर, सेन्सिटिभ इन्डेक्स भने बढेको छ । सेन्सिटिभ इन्डेक्स ०.९२ अंकले बढेर ४५२.२९ अंकमा पुगेको छ । बुधबार नेप्सेले इन्ट्रा–डे कारोबारमा २५०० अंकको विन्दु पार गरे पनि मंगलबारको भन्दा करेक्सन भएर क्लोजिङ भएको छ । २४९०.५४ अंकमा ओपनिङ भएको बजार इन्ट्रा–डे कारोबारमा १५२०.३७ अंकको उच्च विन्दु कायम गरेको थियो भने २४५७.३३ अंकसम्म झरेको थियो । नेप्सेले पहिलोपटक २५०० विन्दु पार गरेको हो ।

सुरुवाती समयमा उच्च समयमा ह्वात्तै माथि गए पनि सोमबार र मंगलबार दुई दिन लगातर उच्च अंकले बढेको बजारमा लगानीकर्ताले नाफा बुक गर्न खोज्दा नेप्सेमा बिक्री चाप हावी हुन पुग्यो, जसले गर्दा नेप्सेमा सामान्य करेक्सन भएको छ ।

अर्कोतर्फ नेकप प्रचन्ड–नेपाल)समूहले बिहीबारको लागि आम हड्ताल आह्वान गरेको समाचार आएसँगै साढे एकपछि नेप्सेमा तीव्र रूपमा उतार–चढाव आएको थियो ।

नेप्सेमा २०२ कम्पनीको दुई करोड २० लाख ४० हजार ५१६ कित्ता सेयर किनबेच हुँदा नौ अर्ब ५३ करोड १७ लाख १६ हजार रुपैयाँको कारोबार भएको छ । ९१ हजार ५५९ वटा कारोबारबाट उक्त रकमको कारोबार भएको हो ।

आज नेप्सेमा बैंकिङ, हाइड्रोपावर, लघुवित्त र म्युचुअल फन्ड समूहको सूचक सकारात्मक हुँदा त्यसबाहेक सबै समूहको सूचक घटेको छ । व्यापार समूहको सूचक २.२१ प्रतिशत, वित्त कम्पनी समूहको सूचक १.६८ प्रतिशत, उत्पादन समूहको सूचक १.६५ प्रतिशत, होटेल समूहको सूचक १.४६ प्रतिशत र जीवन बिमा समूहको सूचक १.०७ प्रतिशतले घटेको छ ।

यस्तै, अन्य समूहको सूचक पनि ०.८६ प्रतिशतले ओरालो लाग्दा बैंकिङ सूचक ०.२४ प्रतिशत, हाइड्रोपावरको सूचक १.०४ प्रतिशत र लघुवित्तको सूचक ०.०२ प्रतिशतले बढेको छ ।

नेप्सेमा आज ग्लोबल आईएमई बैंकको ६० करोड ८० लाख ११ हजारको कारोबार हुँदा १५ लाख ६ हजार ६१ कित्ता सेयर किनबेच भयो । यस्तै, प्रभु लाइफ इन्स्योरन्सको सबैभन्दा धेरै ११ हजार २६ वटा कारोबार भएको छ ।

नेप्सेमा करेक्सन भए पनि स्वाभिमान, उन्नति सहकार्य, जनउत्थान सामुदायिक र महुल लघुवित्तको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ । यता, पोखरा फाइनान्सको सेयर मूल्य भने सर्वाधिक ७.८८ प्रतिशतले घटेको छ ।

 

© 2021 Nepal Vitra All right reserved Site By : Himal Creation