सोमवार, मंसिर १२, २०७९

ट्राफिक प्रहरी दाङले ठूलो आवाज निकाल्ने मोटरसाइकललाई धमा धम कारवाही

(लालसुर विष्ट)
दाङ, भदौ ८ । ट्राफिक प्रहरी दाङले ठूलो आवाज निकाल्ने मोटरसाइकललाई धमा धम कारवाही गरेको छ ।

दाङ जिल्ला ट्राफिक प्रहरीले स्वरुप परिवर्तन गरेर ठूलो आवाज निकाल्ने मोटरसाइकललाई विशेष निगरानी राखेर कारवाही गरेको हो ।

ठूलो आवाज निकाल्ने मोटरसाइकलका कारण दुर्घटना बढ्नुका साथै अनावश्यक रुपमा सर्वसाधारणलाई आतङ्कित तुल्याउने र ध्वनी प्रदुषणसमेत गर्ने मोटरसाइकललाई एक हप्तामा ५० भन्दा बढीलाई पक्राउ गरेर कारवाही गरिएको ट्राफिक प्रहरी निरीक्षक झबिन्द्र परियारले जानकारी दिनुभएको छ ।

जथाभावी रुपमा साइलेन्सरलाई मोडिफाइ गरेर, फिल्टर निकालेर वा कम्पनीबाट नै ठूलो आवाज निस्कने बनाइएका मोटरसाइकललाई दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालयले धमा धम कारवाही गरेको छ।

मोटरसाइकलले ध्वनी प्रदूषण हुने गरी कोलाहल मच्चाउँदै ठूलो आवाजले गुडाउने, स्वरुप परिवर्तन गरी चलाउने, लापरवाही ढङ्गले चलाउने, जीकज्याक रुपमा चलाउने कार्य कानून विपरीत भएकाले कारवाही गरेको परियारले बताउनु भयो ।

यस्ता ठूलो आवाज निकाल्ने मोटरसाइकल जुनसुकै सडकमा गुडिरहेमा ट्राफिक प्रहरीलाई खबर गर्न समेत सबैलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले आग्रह गरेको छ ।

© 2022 Nepal Vitra All right reserved Site By : Himal Creation