सोमवार, मंसिर १२, २०७९

देशभर ८७ हजार हेक्टरभन्दा बढी धान खेत बाँझै

दाङ भदौ ९ । यो वर्ष देशभरि नै औषतभन्दा कम वर्षा हुँदा आकाशे पानीको भरमा खेती गर्नुपर्ने किसान मर्कामा परेका छन् ।

देशभर १५ लाख ४ हजार ४ सय ८६ हेक्टर जमिनमा धान खेती हुने गरेकोमा ८७ हजार तीन सय ५४ हेक्टर जमिन बाँझै बनेको कृषि विभागले जनाएको छ ।

अन्न भण्डार मानिने मधेस प्रदेशमा ७ प्रतिशत जमिनमा यस वर्ष रोपार्इं हुन पाएन भने रोपार्इँ भएको क्षेत्रमा पनि पर्याप्त पानी नपरेका कारण सर्न लागेका धानका बेर्ना फेरि मर्न लागेको छ ।

जेनतेन रोपाईं भएको ठाउँमा सिँचाइ अभावले धानको बोटै मर्ने अवस्थामा पुगेको किसानहरू बताउँछन् ।

कृषि विभागको तथ्याङ्क अनुसार देशभर लगभग ९४ प्रतिशत स्थानमा रोपाईँ भएको छ ।

एकातिर धान रोप्नै नपाएको चिन्ता छ अर्कोतिर रोपेको धान पनि खडेरीका कारण जोगाउन मुस्किल भएको किसानको दुखेसो छ ।

हालसम्म पानीको अभावमा रोपाईं गर्न नपाएकाहरू अब पानी परेकै खण्डमा समेत रोपाईँ गर्ने कि नगर्ने भन्ने अन्यौलमा छन् ।

कृषि विज्ञका अनुसार धानको बीउ राखेको २० देखि २५ दिनमा बेर्ना तीन पाते हुन्छ ।

सो समय नै धान रोपाईँको उपयुक्त समय हो ।

त्यसपछि हरेक दिन बीउको गुणस्तर कमजोर हुँदै जान्छ ।

त्यसैले अब पानी परिहालेमा पनि धान रोपेर उत्पादन सोचे अनुसारको लिन नसकिने भएकाले धानको सट्टामा सोही जमिनमा हुने वैकल्पिक खेती गर्न विज्ञहरूको सुझाव छ ।

खडेरीका कारण यसपटक धानको उत्पादनमा पनि कमी आउने अनुमान गरिएको छ ।

© 2022 Nepal Vitra All right reserved Site By : Himal Creation